केही दिन यता डिभिजन वन कार्यालय तनहुँमा सर्वसाधारणको भीडभाड छ । कार्यालयले बिहीबारदेखि निःशुल्करुपमा बिरुवा वितरण गर्न सुरु गरेपछि हरेक दिन कार्यालयमा बिरुवा लिनका सर्वसाधारणको भीडभाड बढेको हो ।

बिहीबार, शुक्रबार र आइतबार कार्यालय परिसरमा नाम दर्ता गराउँदै सर्वसाधारण मागअनुसारको बिरुवा लगिरहेका छन् । शुक्लागण्डकीदेखि आइपुग्नुभएका खानेपानीका कर्मचारी बालकुमार वाग्लेले खैरेनीटार खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्न बिरुवा लगेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयले बिरुवा बाँड्ने सूचना गरेपछि बिहानै आएर बिरुवा लगेँ, कार्यालयबाट प्राप्त बिरुवा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्छांै ।”

व्यास नगरपालिका–९ का बडहरेका सुरेश आचार्यले बाख्राका लागि डाले घाँस लिन आएको बताउनुभयो । आचार्यले केही समयदेखि बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “डाले घाँस लगेर आफ्नै बारीमा रोप्छु ।” कार्यालयले प्रत्येक वर्षझै यस वर्ष निःशुल्करुपमा बिरुवा वितरण सुरु गरेको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख आठ हजार बिरुवा निःशुल्क वितरण गरिँदैछ । बिरुवा लिनका लागि सर्वसाधारणको उल्लेख्य सहभागिता रहेकाले केही दिनमै सबै बिरुवा वितरण गरेर सकिने उहाँको भनाइ छ ।

कार्यालयमा विशेष गरी डाले घाँस र सौन्दर्यवद्र्धक बिरुवा लिन आउने सर्वसाधारण बढी रहेको उहाँले बताउनुभयो । बिरुवा लैजानेको ठेगाना र सम्पर्क नम्बर प्रविष्ट गरेपछि मात्रै बिरुवा वितरण गरिएको छ । यसले गर्दा बिरुवाको संरक्षण भएको छ की छैन भन्ने अनुगमन गर्न सजिलो हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बिरुवा लगेर मात्र हुँदैन, यसको संरक्षण मुख्य कुरा भएकाले यो विषयमा बिरुवा लैजानेलाई प्रष्ट भनेका छौ ।रासस