असारे पानीमा रुझ्दै धान रोप्नुपर्ने बेलामा पानी नपरेकाले यहाँका किसान धान लगाउन नपाएपछि चिन्तित छन् । मध्य असारअघि धानको शाही (बीउ) रोपाइँ सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै लाउन नपाएका यहाँका किसान खडेरीको चिन्ताले पिरोलिएका हुन् ।
“अई बेर मुँहमे माड लगवाक कोनो उपाय नई सुधैय” (यसपाली मुखमा माड लाग्ने केही उपाय देखिन्न) लामो सास फेर्दै महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान गोविन्दलाल खाँ थारुले भन्नुभयो, “धानके गबो नई रोपायल, परिवारक प्रतिपाल केना होतै ?” (धानको गबो नै लगाउन पाइएन, जहान परिवारको गुजारा केले होला ?) । असार मास (महिना) मा चैत÷वैशाखको जस्तो हुरहुरे बतासले धुलो उडाउनु खडेरी (अनिकाल) को कूलक्षण भएको थारुको चिन्ता छ । उहाँजस्तै यहाँका आम किसान अहिले मुख्यबाली भनिने धान लगाउन नपाएपछि चिन्तामा छन् ।रासस