दाङका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसान भने धानबाली भित्र्याउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान अहिले चैते धान भित्र्याउने तयारीमा छन् ।

चैते धान खेतमा पाक्न थालेसँगै किसान अब भित्र्याउने तयारीमा जुटेको बङ्गलाचुली गाउँपालिका–३ मूलाबारीका किसान कृष्णबहादुर नेपालीले बताउनुभयो । पहिले रोपेको धान पाक्न थालेको र बर्खे खेतीका लागि खेत तयार गर्नुपर्ने भएकाले किसान चैते धान भित्र्याउने तयारीमा जुटेको उहाँले बताउनुभयो । नेपालीले भन्नुभयो, “चैतको अन्तिम सातातिर रोपेको धान पाक्न थालिसकेको छ, तर वैशाखमा रोपेको धान अझै पाकेको छैन, असारको अन्तिमसम्म पाक्ने भएकाले किसान चैते धान भित्र्याउने तयारीमा छन् ।”

पाँच रोपनी जग्गामा चैते धानखेती गर्नुभएका नेपालीले यसवर्ष लामो समयसम्म खडेरी परे पनि धानमा कुनै रोग नदेखिएको र बाला पनि राम्रै लागेकाले उत्पादन बढ्ने आशा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आकाशबाट पानी नआए पनि सिँचाइको समस्या भएन, धानको बाला राम्रो लागेको छ ।”

विगतका वर्षभन्दा यस वर्ष चैते धान राम्रो रहेको मूलाबारीकै किसान भुमा घर्तीले बताउनुभयो । समयमै धान खेतीसँगै मल र पानी पाइरहेकाले धानबाली राम्रो भएको घर्तीको भनाइे छ । “‘धानले समयमै मल र सिँचाइ पाइरहेकाले राम्रो छ, उत्पादन बढ्ने आशा पनि छ”, उहाँले भन्नुभयो ।

राजपुर गाउँपालिका–३ का किसान देवबहादुर पुनले पनि चैते धान यसपाली राम्रो फलेको भए पनि भित्र्याउने समयमा पानी परिरहेकाले समस्या भएको बताउनुभयो । घरमा आर्थिकोपार्जनमा चैते धानले निकै सहयोग पु¥याउने भए पनि यो समयमा भित्र्याउन समस्या हुने गरेको उहाँको भनाइ छ । रासस