कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन प्रदेश रङ्गशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भौतिक प्रगति ६० र वित्तीय प्रगति ४६ प्रतिशत भएको हो । हालसम्म रङ्गशालामा दर्शक प्यारापिटमा चार हजार कुर्सीको जडान कार्य सकिएको, भिआइपी तर्फको प्यारापिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको र छाना निर्माणकार्य बाँकी रहेको जनाइएको छ ।

यस्तै रङ्गशालमा पौडी पोखरी, व्यावसायिक सटर तथा गेट निर्माण कार्य अन्तिमचरणमा रहेको र फुटबल मैदानमा दुबो लगाइ स्तर वृद्धिको कार्य जारी रहेको छ । एथलेटिक्स ट्र्याकको सब बेस र नाली निर्माण सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य जारी रहेको प्रदेश खेलकुद परिषद् सदस्य सचिव विश्वमित्र सञ्ज्यालले जानकारी दिनुभयो ।

निर्माणाधीन रङ्गशालाको कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै काम अगाडि बढेको र हालसम्म रु ६५ करोड ८५ लाख रकम खर्च भएको उहाँको भनाइ छ । विसं २०८१ मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रङ्गशाला निर्माणको कामलाई निरन्तर अगाडि बढाइएको सञ्ज्यालले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर प्रदेशका विभिन्न जिल्लामा खेलकुद संरचना निर्माण गरिएको पनि उहाँले बताउनुभयो । यस्तै १०औँ राष्ट्रिय खेलकुदका लागि कर्णालीले दुई अङ्कको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनीका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औँ बोर्ड बैठकले कर्णाली प्रदेशका खेललाई (क), (ख) र (ग) श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।रासस