भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ । पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ । नेपालकै नमूना पशुपक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेपछि निर्माणको काम भइरहेको विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र रहेकाले नयाँ प्राकृतिक रोग देखिएमा पत्ता लगाई निदान गर्न धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले अस्पताल निर्माण भइरहेको छ ।
गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाखको लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी इको बिल्र्डस प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो । आगामी पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सहरी विकास तथा भवन निर्माण एकाइ कास्कीले काम गरिरहेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ६० प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ ।
पशुपक्षीमा जटिल प्रकारको रोगको उपचार, विभिन्न रोगका बारेमा अनुसन्धान केन्द्रको रूपमा विकास गर्न ‘मोडेल’को रूपमा अस्पताल बनाउने कार्य अघि बढेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बहुवर्षीय योजनाअन्तर्गत रु १० करोडको लागतमा अस्पतालको अन्य भौतिक संरचना विस्तार गर्दै लैजाने लक्ष्य रहेको छ ।रासस