चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब छ अर्बमध्ये जेठ मसान्तसम्म रू एक खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको देखिन्छ । जुन कुल वार्षिक विनियोजन बजेटको ४९ दशमलव ४५ प्रतिशत हो ।

महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको प्रदेशहरुको बजेट खर्चसम्बन्धी तथ्याङ्कअनुसार ११ महिनामा सबैभन्दा धेरै कोशी प्रदेशले ६१ दशमलव ४१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशले ३६ दशमलव २५ प्रतिशत बजेट खर्च गरेका छन् ।

सो अवधिमा बागमती प्रदेशले ५० दशमलव ६२ प्रतिशत, गण्डकी प्रदेशले ४८ दशमलव १९ प्रतिशत, लुम्बिनी प्रदेशले ५५ दशमलव ५४ प्रतिशत, कर्णाली प्रदेशले ४५ दशमलव ६० प्रतिशत र सुदूरपश्चिम प्रदेशले ४८ दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । सो अवधिमा चालुतर्फको औसत खर्च ५५ दशमलव ६८ प्रतिशत र पुँजीगततर्फको औसत खर्च ४६ दशमलव ११ प्रतिशत छ ।

कोशी प्रदेश
कोशी प्रदेशले चालु आर्थिक वर्षका लागि कुल रू ३९ अर्ब ९१ करोडको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू २४ अर्ब ५१ करोड बराबर खर्च भएको छ । प्रदेशले चालुतर्फ ७० प्रतिशत र पुँजीगततर्फ ५५ प्रतिशत खर्च गरेको छ । चालु आवका चालुतर्फ रू १६ अर्ब ६२ करोड र पुँजीगततर्फ रू २३ अर्ब २९ करोड छुट्याइएमा जेठ मसान्तसम्ममा कोशी प्रदेशले चालुतर्फ रू ११ अर्ब ६५ करोड र पुँजीगततर्फ रू १२ अर्ब ८६ करोड खर्च भएको छ ।रासस