सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँको आज सम्पन्न पहिलो अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको अध्यक्षमा पूर्णप्रसाद मिश्र, उपाध्यक्षमा विनोद बस्नेत, सचिवमा कल्पना भट्टराई, सहसचिवमा अभिमन्यू नेपाल र कोषाध्यक्षमा भीमबहादुर लामा रहनुभएको छ । त्यसैगरी सदस्यमा विदुर सापकोटा, सन्तोष भण्डारी, सरिता खनाल, रविराज रिमाल र जीवन शर्मा खनाल हुनुहुन्छ । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक अधिवक्ता वीरेन्द्र दबाडीले प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घ केन्द्रीय अध्यक्ष उमिद बागचनले सूचनाको हक जनताको अनुहारमा खुसी ल्याउने अभियान भएकाले वडा तहसम्म सूचना माग्ने अभ्यासको विकास गर्न नवनिर्वाचित समिति सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

नवनिर्वाचित समितिको पहिलो बैठकले यही असार ३० गते शनिबार विश्व सम्पदा सूचीमा सुचीकृत बोद्धनाथ क्षेत्रबाट सूचनाको हक जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ । काठमाडौँ जिल्लाको ११ वटै स्थानीय तहमा सञ्चालन गरिने जनाइएको छ ।रासस