नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गर्नुभएको छ ।

भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उहाँले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु¥याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गर्नुभएको हो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले अछामलगायत समग्र सुदूरपश्चिम क्षेत्रमा विकासमा एकताबद्ध भएर काम गरौँ भनी स्व रावलले भन्ने गरेको घटना स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “रावलजीको अछामलाई वेग्लै जिल्लाका रूपमा स्थापित गराउन ठूलो योगदान छ, सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेकाले सबै मिलेर काम गरी अघि बढाउनुपर्छ भनी प्रेरित गरिरहनुभयो ।”

मुलुकमा लोकतन्त्रका लागि भएको राजनीतिक आन्दोलन र परिवर्तनमा उहाँले खेलेको भूमिका उच्च रहेको बताउँदै सभापति देउवाले देश र जनहितका लागि रावलले देखाएको बाटोमा अघि बढन सम्पूर्ण पार्टी कार्यकतालाई आह्वान गर्नुभयो ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजनीति स्थिरता, स्पष्ट दृष्टिकोण, शान्ति र आवश्यक संशाधन भएमा देशले छोटो समयमै विकास र समृद्धिमा सफलता हासिल गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले राजनीतिमा जसले जति अवसर पायो त्यति नै असन्तुष्ट रहेको देखिएको छ, कसले कति प्राप्त गर्ने र आकांक्षा कति राख्ने भन्ने विषय पनि चोटिलो बन्न पुगेको छ, यस्तो बेला स्व रावलबाट हामीले प्रेरणा लिनुपर्छ ।रासस