अविरल वर्षाका कारण आएको पहिराले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । शुक्रबार गएको पहिराले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका–७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।
पहिराले मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो । विद्युत् अवरुद्ध हुँदा तीन सय घरधुरीका करिब एक हजार पाँच सय नागरिक विद्युत् सेवाबाट वञ्चित भएका उहाँको भनाइ छ ।
विद्युत् तत्काल सञ्चालनमा ल्याउनका लागि काम भइरहेको उपप्रमुख कायतले बताउनुभयो । स्थानीयद्वारा जनश्रमदान भइरहेकाले केही समयमै विद्युत् सञ्चालन हुने उहाँले बताउनुभयो ।
“अहिले तत्काल पक्की पर्खाल लगाएर विद्युत् सञ्चालन गर्ने अवस्था छैन, जनश्रमदान गरी बर्खाभरिका लागि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,” उपप्रमुख कायतले भन्नुभयो, “बर्खा रोकियो भने पक्की मुहान र नहर बनाएर विद्युत् सञ्चालन व्यवस्थित गर्नेछौँ ।” बर्खाको समयमा पटक–पटक बाढीपहिराले दुःख दिँदै आएको उहाँको भनाइ थियो ।रासस