समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल भएको र सातै प्रदेशमा केही दिनभित्रै आमसभा गर्ने निर्णय भएको छ । “साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले कुन प्रदेशमा कस्ता कार्यक्रम गर्ने भन्ने घोषणा गर्नेछ”, उहाँले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लगायत चारै पार्टीका दोस्रो तहका नेताहरू सहभागी हुनुहुन्थ्यो ।रासस