रामेछापको मन्थलीमा शनिबार ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–११ का अनिश थापामगरले जितेका छन् ।

जिल्ला सदरमुकाम मन्थलीमा भएको उक्त प्रतियोगितामा ५० भन्दा बढी सहभागी थिए । चरण–चरणमा भएको प्रतिस्पर्धामा मन्थली नगरपालिका–३ का अनिस केसी द्वितीय र सोही वडाकै सन्तोष श्रेष्ठले तृतीय स्थान हासिल गरेका थिए । विजयी प्रतियोगीलाई क्रमश नगद रु १० हजार, सात हजार, पाँच हजार, ट्रफी, मेडल नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम नेपाल खेलकुद महासङ्घ मन्थली नगर कमिटीका अध्यक्ष रमेश चापागाईँको अध्यक्षतामा भएको थियो । जिल्लामै पहिलोपटक भएको यो खेल हेर्नका लागि दर्शकका रूपमा युवाहरूको अत्यधिक मात्रामा उपस्थिति रहेको थियो ।रासस