मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो ।

साइबर अपराधका मेद्दा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उहाँले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताउनुभयो । उहाँका अनुसार प्राप्त विवरणमा गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो सङ्ख्या बढेर तीन हजार पाँच सयभन्दा बढी छन् ।

प्रहरीका अनुसार यस अवधिमा कूल तीन हजार पाँच सय ६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ । उनीहरुबाट एक हजार आठ सय ७० वर्ष १० महिना २५ दिन कैद असुल गरिएको छ भने तोकिएको रू ३० करोड ३८ लाख १६ हजार रकम असुल गर्नुपर्ने देखिएको प्रहरी प्रवक्ता कडायतले बताउनुभयो ।

उहाँका अनुसार उक्त अवधिमा गाँजा मात्रै छ हजार नौ सय ६१ किलो, चरेस एक सय ७९ किलो, खैरो हेरोइन चार किलो २५ ग्राम र अफिम चार किलो ९८ ग्राम बरामद गरिएको छ । लागुऔषध ब्यूरोको विशेष अपरेसनमा रात्रिकालीन क्लबहरुमा गरिएको विशेष अपरेसनमा पाँच विदेशीसहित ११ जनालाई पक्राउ गरिएको छ । रासस