कञ्चनपुरमा हुलाकी सडक सुस्त गतिमा निर्माण भइरहेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो ।

ठेक्का सम्झौताको म्याद पटक थपिएको थियो । उक्त म्याद सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव पाँच किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ । कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको सो हुलाकी सडक निर्माणको २०७३ फागुनमा सम्झौता भएको थियो ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारका अनुसार पाँचौँ पटक थप भएको म्याद यही असार मसान्तमा सकिँदै छ । तीन प्याकेजमा निर्माण गर्न सम्झौताको पहिलो प्याकेज (डोके बजारदेखि बेलौरीसम्म) २० किलोमिटर सडक सम्पन्न भएको छ । उहाँले विगतमा झै म्याद थपका लागि संशोधन भएर नआए निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

“यसअघि एक वर्ष म्याद थपिएको हो”, इन्जिनियर सुनारले भन्नुभयो, “यस पटक कारबाहीको प्रक्रियामा जाने सम्भावना छ ।” पहिलो प्याकेजको निर्माण रु ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले पाँचाँै पटक थपिएको म्यादभित्र रहेर सम्पन्न गरेको छ ।

त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ । उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न दिएको छैन । रासस