स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई व्यास नगरपालिकाले पाँच हजार भत्ता दिन सुरुआत गरेको छ । जिल्लाको १० पालिका मध्ये नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिने व्यास नगरपालिका पहिलो भएको जनाइएको छ ।

गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगको विरुद्धको टिडी खोप लगाउनुपर्छ । खोप लगाएको र नियमित परीक्षण गराएकाले सो सुविधा पाउने जनाइएको छ । भत्ता पाउनका लागि गर्भवती आठ महिना भने पूरा भएको हुनुपर्ने प्रावधान रहेको नगरपालिकाले जनाएको छ ।

स्वस्थ शिशु जन्माउने र मातृ मृत्युदर घटाउने नीति अवलम्बन गरिएकाले सोही अनुसार गर्भवतीलाई पोषण भत्ता प्रदान गरिएको नगरपालिकाको महिला, बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाप्रमुख राधा आचार्यले बताउनुभयो । हालसम्म व्यासभित्रका एक सय ३० महिलालाई पोषण भत्ताबापत रु ६ लाख ८५ हजार प्रदान गरिसकिएको उपशाखाले जनाएको छ । भत्ता पाउनेहरुमा आदिवासी जनजाति ५७, दलित ३४ र २९ जना ब्राह्मण–क्षेत्री छन् ।

‘यस कार्यक्रमले आर्थिक अवस्था न्यून भएका गर्भवतीलाई प्रत्यक्ष लाभ पु¥याएको हामीले ठानेका छौँ”, उपशाखाप्रमुख आचार्यले भन्नुभयो, “हामीले भत्ता दिने बेलामा समेत स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउन सल्लाह र स्वास्थ्य समस्या भए परामर्शसमेत दिने गर्छौं ।रासस