हुम्लाको ताँजाकोट गाउँपालिका–२ खटिकवाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इञ्जिनियरिङ शिक्षा अध्ययन गर्नुहुन्छ । रामपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयमा सिभिल इञ्जिनियरिङको तेस्रो सेमेस्टरमा अध्ययनरत छात्र हुनुहुन्छ । सो सेमेस्टरको भर्ना अभियान चलेको हँुदा पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोलिनुभएको थियो ।
परिवारमा पैसा बन्दोबस्त गर्न नसक्दा पढाई बीचमै छाड्ने कि अगाडि बढाउने भन्ने दोधार उहाँ हुनुहुन्थ्यो । यसै क्रममा पाल्पाको रामपुर नगरपालिकाले रु ३० हजार बराबरको मेयर छात्रवृत्ति’ कोषबाट रकम सहयोग गरेपछि भर्ना गर्ने पिरलो टरेको छ ।
“परिवारमा कमाउने कोही छैन, इञ्जिनियरिङ पढ्ने इच्छा धेरै भएर सुरु गरिहाले, भर्ना शुल्क, पढाइमा लाग्ने विविध खर्चमा रकम जुटाउन नसक्दा बीचमै पढाई छाड्ने कि भन्ने मनमा कुरा खेलिरहेका बेला रामपुर नगरपालिकाले एकैपटक रु तीस हजार बराबरको छात्रवृत्ति दिएपछि भर्ना हुने पिरलो हटेको छ”, उहाँले भन्नुभयो ।
परिवारको आर्थिक अवस्था कमजोर रहे पनि इञ्जिनियरिङ पढ्ने तीव्र इच्छाले चार दिनको समय लगाएर पाल्पाको रामपुरमा पढ्न आएको उहाँ बताउनुहुन्छ । एकतर्फी मात्र गाडीभाडा रु १० हजार लाग्दछ । जीवनमा इञ्जिनियरिङ विषय पढेर केही गर्ने सपना बुन्नुभएका खत्रीको रामपुर नगरपालिकाले पढाइमा सहयोग गरेपछि हौसला थपिएको छ । उहाँलाई तेस्रो सेमेस्टरमा भर्ना हुन रु ३० हजार रकम लाग्दछ । सो रकम नगरपालिकाको पूरा सहयोगमा पढ्न पाउँदा आफू बाहिरी जिल्लाको विद्यार्थी हुँ भन्ने अनुभूति नभएको बताउनुभयो ।रासस
