पोखरास्थित बागलुङ बसपार्कदेखि जामुनाबोट–मेथलाङ हुँदै नौडाँडा जोड्ने कृषि सडक खण्ड पाँच दिनदेखि अवरुद्ध भएको छ ।
यही असार १७ गते राति परेको अविरल वर्षासँगै पोखरा महानगरपालिका–१८ गैरीस्वारा भिरमा आएको पहिराका कारण सो सडक खण्ड अवरुद्ध भएको हो । गैरीस्वाराको जङ्गलबाट ठूलो चट्टानसहित खसेको पहिराले लगभग एक सय मिटर ढाकेको सडक खुलाउने प्रयास भइरहेको पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
“सडक पूरै चट्टानले ढाकेको छ, पन्छाउँदा माथिल्लो क्षेत्रमा चर्केको अवस्थामा रहेको जङ्गल सहितको भाग खस्ने उच्च जोखिम छ”, उहाँले भन्नुभयो, “महानगर प्रमुख धनराज आचार्यसहितको प्राविधिक टोलीले स्थलगत अध्ययनपश्चात् सडक सञ्चालन गर्ने प्रयास सुरु गरिने छ ।”
पोखरा महानगरपालिकाको क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको पोखरा–बागलुङ राजमार्गको नौडाँडा जोड्ने करिब २० किलोमिटर दूरीको कृषि सडक एकतर्फी नालासहित कालोपत्र भइरहेको छ । उक्त सडक अवरुद्ध भएसँगै पधेँली–खड्का थर कच्ची बाटोबाट यातायात सञ्चालन भइरहेको जनाउँदै उहाँले भन्नुभयो, “वर्षाका कारण कमजोर अवस्थाको उक्त साँघुरो सडक जोखिमपूर्ण रहेको छ ।”
लामो समयसम्म पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसक्दा स्थानीय उत्पादनको बिक्री वितरणका लागि पोखरा बजारसम्म आवतजावतमा समस्या परेको स्थानीय बासिन्दाले बताएका छन् । सोही राति चङ्खपुरको समरखुमा गएको पहिराका कारण अवरुद्ध भएको लेकसाइड–पामे–घाटीछिना सडक महानगरका प्राविधिकसहित आवश्यक उपकरण प्रयोग गरेर सञ्चालन गरिएको वडाअध्यक्ष तिमिल्सिनाको भनाइ छ । रासस