श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक सञ्जालको विकास गर्ने जनाएको छ ।

श्रीलङ्काका बन्दरगाह, पानीजहाज तथा उड्डयनमन्त्री निमल सिरिपाला डी सिल्भाले शुक्रबार संसद्लाई गरेको सम्बोधनमा उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “श्रीलङ्काले उच्च स्तरीय पर्यटकलाई आकर्षित गर्न विभिन्न विमानस्थललाई जोड्ने आन्तरिक हवाई यातायात सञ्जाल विकास गर्न लागेको छ ।”

बन्दरनाइके अन्तर्राष्ट्रिय विमानस्थल, मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थल, जाफना अन्तर्राष्ट्रिय विमानस्थल र ट्रिन्कोमाली र बत्तिकालोवाका आन्तरिक विमानस्थललाई यस कार्यक्रमअन्तर्गत जोडिने उहाँले बताउनुभयो ।

आन्तरिक हवाई यातायात सञ्जालको विकास गरेमा सम्पन्न तथा बढी खर्च गरी सेवा लिन चाहने पर्यटकलाई आकर्षित गर्न सक्ने उहाँले बताउनुभयो ।

मन्त्री डी सिल्भाले पछिल्लो समय केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले श्रीलङ्कामा उडान बढाएको जानकारी दिनुभयो ।

पर्यटन यो दक्षिण एशियाली मुलुकको लागि एक महत्वपूर्ण विदेशी मुद्रा कमाई हो । सम्पन्न र स्तरीय पर्यटकहरू आकर्षित गर्नु स्थानीय पर्यटन उद्योगको लागि एक महत्वाकाङ्क्षी लक्ष्य हो । रासस