जिल्लामा १२ वर्षमा मानव र हात्तीबीचको द्वन्द्वमा पीडित बनेका तीन हजार नौ सय ९२ जनालाई राहत उपलब्ध गराइएको छ । जङ्गली हात्तीको आक्रमणमा मृत्यु, घाइते र धनमालको क्षति भएका परिवारलाई सरकारका तर्फबाट रू सात करोड १६ लाख २७ हजार सात सय १९ राहत रकम वितरण गरिएको हो ।

आर्थिक वर्ष २०६८/६९ देखि २०७९/८० सम्मको अवधिमा मानव–हात्तीद्वन्द्वबाट मृत्यु, घाइते र बाली क्षति भएका तीन हजार नौ सय ९२ जनालाई रू सात करोड १६ लाख २७ हजार सात सय १९ बराबरको राहत वितरण गरिएको जिल्लास्थित डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार राहतमध्ये आधाभन्दा बढी रकम भौतिक संरचना र बाली क्षति भएका परिवारले पाएका छन् ।

“सरकारले मृतकका परिवारलाई रू १० लाख उपलब्ध गराउँदै आएको छ भने घाइतेको अवस्था अनुसार उपचार खर्च व्यहोर्दै आएको छ । भौतिक सम्पत्ति र बालीको क्षति मूल्याङ्कन गरेर राहत दिने गरिएको छ”, सूचना अधिकारी पुरीले भन्नुभयो ।

हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई तत्कालै काजकरिया खर्चबापत रू ५० हजार नगद उपलब्ध गराउने गरिएको कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो । बाँकी रू नौ लाख ५० हजार कागजी प्रक्रिया पुर्‍याएपछि दिने गरिएको उहाँले बताउनुभयो ।

प्रमुख राईका अनुसार घाइते व्यक्ति गम्भीर अवस्थामा भए अधिकतम् रू दुई लाखसम्म उपचार खर्च सरकारले व्यहोर्ने गरेको छ । “घरमा क्षति भए रू २० हजारसम्म र बाली क्षति भए रू १० हजारसम्म पीडितलाई राहत दिने गरिएको छ”, उहाँले भन्नुभयो, “विगत १२ वर्षमा सबैभन्दा बढी राहत आव २०७८/७९ मा वितरण भएको छ ।” रासस