भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पा ठूलीभेरी नगरपालिकामा पर्ने रुपगार खोलाको ‘बेलिब्रिज’ एक वर्षदेखि अलपत्र बनेको छ । पुल निर्माणको जिम्मा पाएको इको इन्फ्रा विल्डर्सका प्रोप्राइटर तेञ्जिन लामा र रेट्रो टेकका प्रोप्राइटर बादल बुढाबीच लेनदेनको कुरा नमिल्दा पुल निर्माण अलपत्र परेको हो ।
पुल निर्माण नहुँदा बर्खाको उर्लँदो भेलमा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । पुल निर्माणका लागि दुवैतिर आधार तयार गरे पनि निर्माणका लागि ल्याइएका सामान बीच बाटोमै अलपत्र छन् ।
त्रिपुरासुन्दरी नगरपालिका–५ मा स्थित करोपगार्ड र खदाग, वडा नं १ मा पर्ने त्रिपुराकोट र ठूलीभेरी नगरपालिका–९ मा स्थित रुपगार गरी चार वटा पुल निर्माणको जिम्मा इको इन्फ्रा बिल्डर्स प्रालिले लिएको भेरी करिडोर सडक आयोजना कार्यालय जाजरकोटले जनाएको छ ।
सडक सव–डिभिजन कार्यालय चौहरजहारीले दुई चरणमा ठेक्का सम्झौता खुलाइएको थियो । पुल निर्माण सम्झौता भएको मितिले एक वर्षभित्र सम्पन्न गर्ने गरी विसं २०७७ पुस ५ मा रू चार करोड ५२ लाखमा निर्माणको जिम्मा लिएको थियो ।
पहिलो चरणमा करोपगार्ड र खदागको पुलका लागि प्रालिले रू दुई करोड २१ लाखमा जिम्मा लिएको थियो । प्रालिले उक्त पुलको जिम्मा डोल्पाका स्थानीय कृष्ण निर्माण सेवाका प्रोप्राइटर राज न्यौपानेलाई बेचेको थियो । “ठेक्का भएअनुसार एक वर्षभित्रै पुल निर्माण सके पनि करिब रू ७० लाख भुक्तानी अझै पाएको छैन”, न्यौपानेले भन्नुभयो । पहिलो चरणको ठेक्काअन्तर्गत रू एक करोड ३६ लाख भुक्तानी भइसकेको र रू ८५ लाख भुक्तानी हुन बाँकी रहेको भेरी करीडोर सडक आयोजना कार्यालय जाजरकोटले जनाएको छ ।रासस