केही दिनदेखि परेको अविरल वर्षाका कारण बागलुङमा दुई विद्यालय पहिरोको जोखिममा परेका छन् ।
निसीखोला गाउँपालिका–६ स्थित देउराली प्राथमिक विद्यालय र बडिगाड गाउँपालिका–५ दागस्थित थानापति आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् । विद्यालय पहिराको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ ।
पहिरोले देउराली प्राविको भवनको जग्गा नै बगाउन थालेको छ भने थानापति आधारभूत विद्यालयको खेल मैदान बगाएको छ । अघिल्लो वर्षदेखि पहिरोको जोखिममा परेको देउराली प्रावि अहिले भवन नै बग्ने खतरा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र घर्तीमगरले जानकारी दिनुभयो । विद्यालय संरक्षणका लागि गाउँपालिका र प्रदेश सरकारलाई आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।
पहिरोले खेलमैदान बगाएसँगै विद्यालय भवन जोखिममा परेको थानापाती आधारभूत विद्यालयका प्रधानाध्यापक खिमराज घिमिरेले बताउनुभयो । विद्यालय पहिराका कारण जोखिम मोलेर पठनपाठन गर्न बाध्य भएको उहाँको भनाइ छ । बर्खा सुरु भएपछि दिनदिनै पानी पर्न थालेको भन्दै कतिबेला विद्यालय बगाउँछ भन्ने त्रास हुने प्रधानाध्यापक घिमिरे बताउनुहुन्छ ।
विद्यालयमा अधिकांश ससाना बालबालिका मात्रै रहेको हुँदा पहिरोबाट लड्ने खतरा बढेको उहाँले बताउनुभयो । पहिरोले खेलमैदान बगाएपछि विद्यालय संरक्षणका लागि गाउँपालिकामा जानकारी गराएको उहाँको भनाइ छ । विद्यालयको मुख्य भवनको तल्लो भागको पहिरोले बगाउँदा शौचालय जानआउन समस्या भएको उहाँले बताउनुभयो ।रासस