भरतपुर महानगरपालिकाको वडा नं ११ बाट वडा नं २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाउन सिमाङ्कनको काम थालिएको छ ।

महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको हो । सोका लागि सिमाङ्कनको काम सुरु गरिएको हो । महानगरपालिकाले घोलको सिमाङ्कन र संरक्षण गर्न उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा समितिसमेत गठन गरेर काम अघि बढाएको हो ।

समितिका संयोजक अधिकारीका अनुसार घोल महानगरका ११ वडामा पर्दछ । ती वडाहरुले सिमाङ्कनको काम सुरु गरेका हुन् । उहाँले भन्नुभयो, “केही वडाले काम थालेका छन्, केही थाल्ने तयारीमा रहेका छन् ।” घोलको सिमाङ्कन वडाले आफैँ छुट्याउने छन् । कुनै समस्या भएमा महानगरपालिकाले सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

महानगर प्रमुख रेनु दाहालले यथाशीघ्र छिटो काम सम्पन्न गर्नेगरी वडालाई सिमाङ्कन गर्न भनिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वडाहरुले काम सुरु गरेकाले छिट्टै सिमाङ्कनको काम सकेर निर्माणको काम थालिने छ ।” उहाँका अनुसार ३० दशमलव दुई किलोमिटर लामो घोल कम्तिमा छ मिटर फराकिलो छ । कतिपय स्थानमा चौडाइ धेरै भएको भन्दै उहाँले सिमाङ्कनको काम सम्पन्न भएसँगै वास्तविक क्षेत्रफल आउने बताउनुभयो ।

घोल संरक्षण र व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा काम गर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजनाले रु १८ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा रु चार करोडको काम गोन्द्राङमा गरिएको छ । दाहालले भन्नुभयो, “महानगरले पनि थप बजेट विनियोजन गर्छ ।रासस