निरन्तरको वर्षाका कारण भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा बन्द भएको छ । वर्षासँगै विभिन्न ठाउँमा पहिरा खस्नुका साथै सडक हिलाम्य हुँदा यातायात सेवा ठप्प भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयलाई दैनिक आवागमनका साथै उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ ।

निरन्तर परेको वर्षाले जिल्लाको ग्रामिण क्षेत्रदेखि सदरमुकामसम्मका अधिकांश स्थानमा यातायात सेवा बन्द छन् । सदुरमुकामबाट उत्तरी क्षेत्र षडानन्द नगरपालिकासँग जोड्ने भोजपुर– दिङ्ला मुख्य सडक हिलाम्य बन्दा यात्रुबाहक तथा ढुवानीका साधन सञ्चालनमा समस्या भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय व्यापारी सन्तोष विष्टले बताउनुभयो । वर्षातका कारण सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भएको उहाँले बताउनुभयो ।

“दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भइरहेको छ । गाउँमा नून, तेलको अभाव हुने सम्भवाना छ”, विष्टले भन्नुभयो, “विभिन्न ठाउँमा पहिरो गएको छ, भने कतिपय सडकमा ठूलाठूला खाल्डा परेका छन् । आकस्मिक बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई अत्यन्तै समस्या छ ।” उहाँका अनुसार सडक हिलाम्य भएपछि स्थानीय किसानले उत्पादन गरेका कृषि उपजसँगै दूध सङ्कलनमासमेत समस्या भएको छ ।

सडक ठाउँ–ठाउँमा पहिराको जोखिम हुनाका साथै हिलाम्य भएर यातयात सञ्चालनमा समस्या भएपछि सुत्केरी तथा गर्भवती महिला, आकस्मिक बिरामीका साथै प्राकृतिक प्रकोपका कारण कुनै पनि विपद् आएमा उद्धारमा थप समस्या हुने स्थानीयको भनाइ छ । रासस