जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण भएपछि यसविरुद्ध ‘खोप अभियान’ थालिएको छ । गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँमा पहिलो पटक देखिएको लम्पी स्किन सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
सङ्क्रमण थप फैलिन नदिने उद्देश्यले खोप अभियान सुरु गरिएको केन्द्रका निमित्त प्रमुख डा कार्कीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा पहिलो पटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको थियो । पक्स समूहको काप्रीपक्स भाइरसबाट गाईभैँसीमा लम्पी स्किन रोग लाग्ने डा कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहमा गरी ३५ हजार पशुमा सङ्क्रमण देखिएको छ ।
नमोबुद्ध नगरपालिका तथा महाभारत र खानीखोला गाउँपालिका बाहेकका स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध पशुमा ‘एन–सिल्ड’ नामक खोप लगाउन थालिएको डा कार्कीले जानकारी दिनुभयो । “क्रमशः सबै स्थानीय तहमा खोप लगाउँदै जानेछौँ”, उहाँले भन्नुभयो, “स्वस्थ पशुलाई मात्रै खोप लगाउन मिल्छ ।”
हाल केन्द्रले दश हजार डोज खोप खरिद गरी स्थानीय तहमा वितरण गरेको छ । स्थानीय तहको तथ्याङ्क अनुसार जिल्लामा करिब एक लाख ५२ हजार गाई रहेका छन् । रोगको सङ्क्रण बढे्सँगै स्थानीय पशुपालक किसान चिन्तित बनेका छन् ।
रासस