जिल्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको सुरक्षाका लागि ‘निःशुल्क घर बीमा’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा निःशुल्क घर बीमाको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताउनुभयो ।
तातोपानीका आठवटै वडाका तीन हजार तीन सय घरधुरीका लागि निर्जीवन बीमा सुरक्षाको प्रत्याभूति दिनका लागि रू २० लाख बजेट नीति तथा कार्यक्रममार्फत विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष चौलागाईँले भन्नुभयो, “अविरल वर्षा र बाढी पहिराका कारण प्रत्येक वर्ष नागरिक घरबारविहीन हुनु परेको छ । नागरिकको बासस्थानको सुरक्षाका लागि घर बीमा योजना ल्याएका छौँ ।” स्थानीयको सुरक्षामा पहिलो जिम्मेवारी स्थानीय सरकार भएकाले यहाँका नागरिकको सुरक्षाका लागि घर बीमा कार्यक्रमलाई पहिलो प्राथमिकता रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष चौलागाईँका अनुसार नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बीमा कम्पनीसँग सहकार्य गरेर यहाँका नागरिकको घर बीमा गरिने छ । प्रत्येक घरलाई रू पाँच लाख बराबरको बीमा गर्ने पालिकाले जनाएको छ । घरमा प्राकृतिक विपत्ले क्षति पु¥याएमा बीमाबाट राहत पुग्ने उहाँले बताउनुभयो ।
गत वर्ष असोजमा आएको अविरल वर्षाले तातोपानी क्षेत्रमा धैरे क्षति गरेको थियो । अझैसम्म यहाँका खेतबारी र विद्यालय पुनः निर्माण हुन सकेका छैनन् । प्रकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्दै नागरिकलाई राहत महसुस गराउनका लागि आव २०८०/८१ आर्थिकबाट उक्त कार्यक्रम लागू गरिएको उपाध्यक्ष रेवती रावलले जानकारी दिनुभयो । रासस