कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेसामा आबद्ध हुनुहुन्छ । पिपलाडीमा चौधरीको साढे चार बिघा जमिन छ । उहाँले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाड्नुभएको पाँच वर्ष भइसक्यो । खेत जोत्नका लागि उहाँ अचेल ‘पावर टिलर’को प्रयोग गर्नुहुन्छ ।

“अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगले धेरै कृषकलाई धेरै सहजता थपेको छ ।” वर्षौँदेखि उहाँले तरकारी, उखु, गहुँ तथा धानखेती गर्दै आउनुभएको छ । कुरेरुवा कृषक समूहमा आबद्ध उहाँले सरकारी अनुदानमा कृषियन्त्र खरिद गर्नुभएको थियो ।

उहाँहरूसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर टिलरलगायतका उपकरण छन् । “धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न ती उपकरणको प्रयोग गर्छौँ”, उहाँले भन्नुभयो, “कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।”

शुक्लाफाँटा–२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थाल्नुभएको छ । “कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्”, उहाँले भन्नुभयो, “यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ ।”

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय कञ्चनपुरमा कृषि क्षेत्रमा यान्त्रिकीकरण प्रयोग बढ्दै गएको छ । प्रविधिको प्रयोगमा किसानको आकर्षण बढ्दो छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि कृषक आत्मनिर्भर हुन थालेका छन् । रासस