एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकामा ‘घ्यू फल’ भनेर चिनिने एभोकाडोको खेती सुरु गरिएको छ । आँबुखैरेनी–२ मा ७५ प्रतिशत अनुदानमा एक हजार आठ सय ४० वटा एभोकाडोको बिरुवा तथा सामग्री वितरण गरिएको हो ।

उक्त बिरुवा रोपेको तेस्रो वर्षबाट उत्पादन दिन सुरु हुने र मूल्य पनि राम्रो पाइने भएकाले यस खेतीलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

फलफूल क्षेत्र विकास कार्यक्रमअन्तर्गत तनहुँमा पनि एभोकाडो खेतीलाई समावेश गरी गत वर्षदेखि यसको बिरुवा उत्पादन गरेर खेती सुरुआत गरिएको हो ।

समुन्द्री सतहबाट दुई सय सयदेखि एक हजार छ सय मिटर उचाइमा यसको खेती गर्न सकिने कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । तनहुँमा पाँच हेक्टर जमिनमा बिरुवा लगाएर खेती सुरुआत गरिएको र यस वर्ष अझै विस्तार गर्दै लैजाने योजना रहेको छ ।

तिवारीका अनुसार गत वर्ष केन्द्र आफैँले दुई हजार बिरुवा उत्पादन गरेर र बाहिरबाट थप दुई हजार बिरुवा मगाएर चार हजार बिरुवा कृषकलाई वितरण गरेको थियो । यस वर्ष पाँच हजार बिरुवा वितरण गर्ने योजना रहेको छ । कृषकलाई ७५ प्रतिशत अनुदानमा प्रतिबिरुवा रु २५ मा वितरण गरिएको हो ।

पहाडी भूगोलमा हुने एभोकाडोको खेती गर्न सकिने केन्द्रले जनाएको छ । तिवारीले भन्नुभयो, “यो खेती तराईदेखि पहाडसम्म गर्न सकिन्छ कागती तथा केरा हुने स्थानमा यसको खेती राम्रो हुन्छ ।रासस