बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कालढुङ्गामा उद्यानसहितको डम्फु जीवन्त सङ्ग्रहालय निर्माण भइरहेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भन्दा फरक ढङ्गले निर्माण भइरहेको उक्त सङ्ग्रहालय डिपिआर बनाउँदा माटो परीक्षण नगरिएकाले भौगोलिक संरचनाको अध्ययनपश्चात् फरक ढङ्गले निर्माण गर्नुपर्ने देखिएको जनाइएको हो ।

गाउँपालिकाका इञ्जिनियर भूपेन्द्र अधिकारीका अनुसार उद्यान निर्माणस्थलमा बलौटे माटो थुप्रिएको र नजिकै बगिरहेको भ्याकुरे खोलाले कुनैपनि बेला असर गर्न सक्ने अवस्था देखिएकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भन्दा फरक ढङ्गले निर्माण गर्नुपरेको बताउनुभयो । अहिले निर्माण भएको संरचनामा डम्फु बाहेक भवन, शौचालयलगायत संरचना उद्यानको अर्को दिशातर्फ बनाउनु परेको उहाँको भनाइ थियो ।

“उद्यान बनाउने क्षेत्र र क्षेत्रफल त्यही भए पनि पुरुवा बलौटे माटो भएको ठाउँ भएको र बलियो जग राख्नपरेकाले अलि फरक स्थानमा बनाउनुपरेको हो ।” इञ्जिनियर अधिकारीले भन्नुभयो, “सुरुकै गुरुयोजनाअनुसार बनाउदा फाउण्डेशन निकै तलबाट उठाउनुपर्ने र यसका लागि लागत बढी पर्ने भएपछि संरचना निर्माणको कामलाई केही परिमार्जन गरिएको हो ।”
गुरुयोजनामा डम्फुको पछाडीपट्टी निर्माण गर्नुपर्ने सङ्ग्रहालय र पुस्तकालय भवन तथा शौचालय बायाँतर्फको ठाउँमा निर्माण गरिएको छ । अहिले सो उद्यान क्षेत्रमा निर्माण सम्पन्न भइसकेको डम्फु आकृतिको संरचनाबाहेक सङ्ग्रहालय र पुस्तकालयको भवन, शौचालय, सेल्फि प्वाइन्ट, फुट इस्टल, पार्किङस्थल निर्माणका साथै घेराबारको काम भइरहेको छ ।

इञ्जिनियर अधिकारीका अनुसार करिब रु छ करोडको लागतमा सो सङ्ग्रहालय निर्माण हुनेछ । पहिलो चरणमा रु एक करोड ८४ लाखमा डम्फुको आकृति निर्माणका लागि फाउण्डेशन निर्माण, दोस्रो चरणमा रु एक करोड २५ लाखको लागतमा डम्फु निर्माण र अहिले तेस्रो चरणमा रु दुई करोड २५ लाखको लागतमा थप संरचना निर्माण भइरहेको उहाँले बताउनुभयो । माटो परीक्षणका क्रममा पहिलाको संरचनाअनुसार निर्माण गर्दा जग बलियो बनाउन फाउण्डेशन निर्माणको लागि धेरै लागत लाग्ने भएकाले त्यहीअनुसार निर्माण गरिए करिब रु पाँच करोड थप लागत लाग्ने उहाँको भनाइ थियो ।

गाउँपालिकाका पूर्वअध्यक्ष दलबहादुर लामाले उक्त सङ्ग्रहालय निर्माणका क्रममा गुरुयोजनाभन्दा फरक ढङ्गले निर्माण गर्न लागिएको पाएपछि पालिका र इञ्जिनियरको ध्यानाकर्षण गराइएको बताउनुभयो । अहिले निर्माण गरिएको डम्फु आकृतिको माथिल्लो भागमा चराको आकृति नराखिएको पाएपछि त्यसलाई सोही अनुरुप निर्माण गर्न ध्यानाकर्षण गराइएको उहाँको भनाइ थियोे ।

“रोशीको फरक पहिचान दिलाउनका लागि हामीले अगाडि बढाएको गौरवको आयोजना ‘डम्फु जीवन्त सङ्ग्रहालय’को विस्तृत परियोजना प्रतिवेदनलाई तोडमोड गरेर भन्दा पनि सोही अनुरुप निर्माण गर्दा नै अति उत्तम हुनेथियो ।” उहाँले भन्नुभयो,“इञ्जिनियरको पनि सल्लाह सुझाव लिइरहेको र काम पनि अगाडि बढिरहेकाले फरक ढङ्गबाट निर्माण हुनेछैन भन्नेमा विश्वस्त छु ।”

साठी रोपनी जग्गा व्यवस्थापन गरी निर्माण भइरहेको सङ्ग्रहालयलाई बहुउपयोगी हुनेगरी बन्दै गरेको उद्यान सम्पन्न भएपछि पर्यटकको चहलपहल हुनेसमेत विश्वास गरिएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले यसै आर्थिक वर्षमा भौतिक संरचना निर्माण गरी जीवन्त सङ्ग्रहालयको लागि आवश्यक पर्ने सबै सङ्ग्रहालयको काम अबको एक वर्षभित्रमा सकाउने गरी काम भइरहेको बताउनुभयो ।

अहिले सङ्ग्रहालयको भवन र टिकट घर निर्माणको चरणमा रहेको छ ।” उहाँले भन्नुभयो, “पूरै कम्पाउण्ड वाल लगाउने, शौचालय निर्माण गर्ने, बगैँचा निर्माण, मूल गेटदेखि डम्फुसम्म ढुङ्गा विछ्याउनेलगायत काम भइरहेको छ ।”

राजमार्ग छेउमा नयाँ ढङ्गाको उद्यानसहित संरचना ठडिएपछि अहिले सबैको आकार्षणको थलो बन्दै गएकाले बिपी राजमार्ग भएर यात्रा गर्ने जोकोहीको मन पनि कालढुङ्गामा पुगेपछि सडक छेउमा भएको ठूलो आकृतिको ‘डम्फु स्तम्भ’मा अडिने गरेको छ । सडक छेउमा नै निर्माण गगरिएको सो डम्फु आकृतिको दृश्यले सबैको आँखा टक्क अडिने मात्रै नभइ त्यसलाई आफ्नो तस्बिरमा कैद गर्ने थलोसमेत बनेको छ ।

प्राय निजी सवारीसाधनका यात्रीका लागि सेल्फी खिच्ने केन्द्र बनेको छ भने सार्वजनिक सवारी साधनमा यात्रा गर्नेका लागिसमेत मोबाइलमा कैद गर्ने आकार्षक दृश्य बनेको छ । डम्फु स्तम्भ निर्माण सम्पन्न भएसँगै सो राजमार्ग भएर आवतजावत गर्ने दैनिक सयौँंको सङ्ख्यामा सेल्फी खिच्नेको भीड बढेको छ ।

अहिले सो ठाउँ थकान मेटाउनका लागि मात्रै भन्दा पनि नयाँ कुरा सिक्ने र बुझ्ने केन्द्रको रुपमा समेत परिचित हुँदै गएको छ । सङ्घीय राजधानी काठमाडौँबाट पूर्वका जिल्लामा जाने मुख्य नाकाको रुपमा रहेको काभ्रेपलाञ्चोकको सो गाउँपालिकामा बिपी राजमार्ग रोशी खोलाको किनारै किनार नागबेली भएर बनेको छ । तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा एकातिर सांस्कृतिक पहिचानको संरक्षण र सम्बद्र्धन हुने अर्कोतिर विश्रामस्थललाई थप आकर्षणको केन्द्र बनाउने उद्देश्यका साथ डम्फु स्तम्भसँगै जीवन्त सङ्ग्रहालय निर्माण भइरहेको हो ।रासस