खानेपानी सधैँ गाग्रीमा बोकेर उपभोग गर्ने पाल्पाको रामपुर नगरपालिका–३ बोटेगाउँका बासिन्दा अहिले सो खानेपानी समस्याबाट मुक्त भएका छन् ।
बोटे समुदायको बाक्लो बस्ती रहेको यस क्षेत्रका बासिन्दा बाउबाजेको पालादेखि नै नदी, खोला किनारका मूल, कुवामा पुगेर गाग्रीमा बोकेर पानी पिउँन बाध्य थिए । उनीहरु अहिले भने नगरपालिकाले खानेपानी आयोजना निर्माण गर्न सहयोग गरेपश्चात् गाउँमा पानी आएपछि खुसीले दङ्ग छन् ।
गण्डकी ढिक बोटेगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घन्टौँ लगाएर पानी बोक्नुपर्ने समस्या सदाका लागि टरेको छ । आयोजनाअन्तर्गत गाउँदेखि करिब चार सय मिटर पूर्वमा रहेको निस्दीखोला किनारको ठूली पधेँरी भन्ने स्थानमा मुल बाँधेर गाउँमा पानी ल्याइएको छ । त्यसअन्तर्गत मुलदेखि २० मिटर पश्चिमतिर पर्ने खेतमा पाँच हजार लिटर बराबरको पानी सङ्कलन ट्याङ्की (रिजर्भ ट्याङ्की) सो ठाउँबाट तीनसय मिटर दूरीमा पश्चिममा २७ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर लिफ्टिङ प्रणालीबाट लगिएको पानी गाउँमा वितरण गरिएको छ ।
नजिकै रहेको कालीगण्डकी नदी किनार तथा निस्दीखोलाको किनारमा रहेका विभिन्न मुलबाट पानी बोकेर जिविका चलाइरहेका स्थानीय उपभोक्तालाई घरमै धारामा पानी भरेर उपभोग गर्न पाउँदा अन्य कामकाजमा निस्कन सजिलो भएको छ । पानी बोक्न धेरै समय खर्चनुपर्दा अन्य कामकाजमा निस्कन अर्थात् समय निकाल्न अप्ठ्यारो पथ्र्यो । बिहान साँझको घरधन्दा, छोराछोरीलाई स्कुल पठाउन निकै झमेला बोक्दै आउनुभएकी जमुना बोटे पानी बोक्ने समय हिजोआज अन्यत्र काममा सदुपयोग भइरहेको बताउनुहुन्छ ।रासस