रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान अघि सारिएको हो ।

नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार वस्तुको बजारीकरण, क्षमता अभिवृद्धि र अनुगमन–मूल्याङ्कन कार्यलाई आधार मानी कृषि र भेटेनरी प्राविधिकको व्यवस्था गरेर प्रत्यक्ष लाभ हुने गरी काम गर्न लागिएको हो । उहाँले भन्नुभयो, “कृषकले सम्पर्क गरेसँगै हामी प्राविधिक पठाउँछौँ ।” नगरपालिकामा रहेका प्राविधिकले धान्ने अवस्था नभएमा जनशक्ति थपेर पनि घरघरमा सेवा दिने उहाँको भनाई छ ।

कृषिलाई प्रमुख प्राथमिकतामा राखेर नगरपालिकाले काम अघि बढाएको उहाँले बताउनुभयो । कम लागतमा धेरै उत्पादन गर्न सकियोस् भन्नका लागि नगरपालिकाले विज्ञहरुसँग परामर्श गरेर कार्यक्रम अघि बढाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “कृषकले अब आफ्नो परिश्रमको लागत पाउने गरी काम गर्ने वातावरण हामी बनाउँछौँ ।”

नगरपालिकाले दूध उत्पादक र सहकारी संस्थाले किसानसँग खरिद गर्ने दूध र बिक्री गर्ने मूल्यमा एकरुपता कायम गर्ने उहाँले बताउनुभयो । पशुपालनलाई प्रभावकारी बनाउन सन्तुलिन पशु आहारका लागि दाना उद्योग सञ्चालन, हरियो घाँस, साइलेज प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको योजना छ ।

व्यावसायिक किसान र न्यून आय भएका किसानको पहिचान गरी मापदण्डबमोजिमका अनुदान कार्यक्रममा सहभागिताको लागि व्यावसायिक किसानलाई ४० प्रतिशत र गरिब न्यून आय भएका किसानलाई ६० प्रतिशत सहभागिता गराईने प्रमुख सापकोटाले बताउनुभयो । यसबाट साना किसानलाई संरक्षण गर्दै व्यवसायीकरणतर्फ उन्मुख गराउने लक्ष्य नगरपालिकाले राखेको छ ।रासस