ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय सङ्कट उत्पन्न हुन लागेको जनाउँदै ध्यानाकर्षण गराएका हुन् । निरीक्षणका क्रममा पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडामा शनिबार मन्त्री ज्वालालाई भेट गर्दै ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङसहितको टोलीले मानवीय सङ्कट आउनबाट रोक्न आग्रह गरेको हो ।
प्रजिअ चेम्जोङका अनुसार यही असार २ गते बाढीले हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङमा १५ दिन पुग्ने खाद्यान्न मौज्दात रहेको आकलन गरिएको थियो । हेवाखोला डाइभर्सनबाट केही घन्टा यातायातका साधन चल्दा थप केही खाद्यान्न र पेट्रोलियम पदार्थ ताप्लेजुङ भित्रिएको थियो । यसरी जम्मा भएको खाद्यान्न र पेट्रोलियम पदार्थ सकिन लागेको उहाँले जानकारी दिनुभयो । “हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा मानवीय सङ¬्कट आउन लागेको छ”, उहाँले भन्नुभयो, “त्यसैले मेची राजमार्ग र तमोर करिडोर चाँडोभन्दा चाँडो सञ्चालन गराउन मन्त्रीज्यूमार्फत म विशेष आग्रह गर्दछु ।”
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापा जिल्लाको अवस्था दयनीय बनेको बताउनुभयो । “पेट्रोलियम पदार्थ नपाइँदा यातायात अवरुद्ध हुन लागेको छ । चामलको मौज्दात सकिन लागेको छ”, उहाँले भन्नुभयो, “अब चार–पाँच दिनसम्म मालवाहक सवारी ताप्लेजुङ नआउने हो भने यहाँ समस्या हुन सक्छ । अहिले खाना पकाउने ग्यासको समस्या भएको छ ।