‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७९’ को उत्कृष्ट वर्ष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा शुक्रबार धनगढीमा आयोजित ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’मा दुवै जनाले उक्त अवार्ड जितेका हुन् । दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।
गत वर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन महत्वपूर्ण योगदान दिएका दीपेन्द्र गत वर्ष टी २० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने र एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्ने खेलाडीसमेत बनेका थिए । महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा गत वर्ष नेपाललाई पहिलो पटक यु १५ साफ च्याम्पियनसीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् ।
दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको तर्फबाट ह्याटिकसहित पाँच गोल गर्ने खेलाडी वर्षाले गत वर्ष नेपाली यु १५ टोलीले साफ च्याम्पियनसीपमा बङ्गलादेशविरुद्धको जित हात पार्दा निर्णायक गोल गरेकी थिइन् । यस्तै उनी एफसी छनोटका सबै खेल खेलेर गोल गर्ने नेपाली खेलाडीसमेत हुन् ।
सुदूरपश्चिम वर्षको अवार्ड युवा खेलाडी क्रिकेटका हेमन्त धामीले जिते । धामीले भारोत्तोलनका हेमन्त पाल र क्रिकेटकी अनु कडायतलाई पछि पारे । हेमन्तले गत वर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पु¥याउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।रासस