पाँचखाल नगरपालिकाले यस वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणलगायत विविध कारण सम्मेलन लगातार चार वर्ष अनिश्चित भएको थियो । नगरले आर्थिक वर्ष २०८०÷०८१ मा लगानी लम्मेलन गर्ने आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
सम्मेलनको अयोजना घोषणा गरेको नगरले कोरोना सङ्क्रमणको तेस्रो लहरसम्म गर्न सकेको थिएन । “चालु आवमा पनि गर्न भ्याइएन, अबको वर्ष जसरी पनि गर्ने बजेटसहितको योजना बनाउनेछौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । लगानी सम्मेलनको चाहना त्यतिकै जाने हो की भन्ने डरमा थिए, पुनः नगरप्रमुख भएपछि त्यो चाहनालाई पूरा गर्नेतिर लागिरहेको उहाँले बताउनुभयो ।
आव ०७६÷०७७ मा कार्यपालिका बैठकले निर्णय गर्दै बजेट विनियोजन गरी तयारीमा जुटेपछि कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि त्यसयता लगानी सम्मेलनको योजना योजनामै सीमित भएको थियो । कोरोनाको तेस्रो लहरसम्मका कारण त्यसको असर नगरको अर्थतन्त्रमा परेका कारण गत वर्ष पनि गर्न नसकिएको खरेलले दुःखेसो पोख्नुभयो ।
उहाँका अनुसार सम्मेलनमा लगानीकर्ताबाट रु १५ अर्बको लक्ष्य लिइएको थियो । खरेलले भन्नुभयो, “यस वर्ष सम्मेलन गर्न सकिने वातावरण बन्दै गएको छ, यो वर्ष गर्ने नै योजना बनाएका हौँ, यसका लागि लगानीकर्ता निम्त्याउनेबारे अध्ययन थाल्नेछौँ ।” यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट विसं २०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनमा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट रु १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता जनाएका थिए । रासस