व्यास नगरपालिका-७ शेषमटारमा समता विद्यालय स्थापना गरी अभिभावकविहीन पँैतालिस बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

खान र बस्नसहितको शिक्षाका लागि नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै साहाराविहीन बालबालिकालाई साहारा दिएको हो । शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भनी नगरपालिकाले उक्त विद्यालय स्थापना गरी आवाससहितको शिक्षा प्रदान गरेको हो ।

नगरपालिकाले बस्ने, खाने, पढ्ने र सुत्नेसहितको सुविधा प्रदान गरेपछि बालबालिका खुसी छन् । बालबालिकालाई चाहिने कापी कमल, पोसाक, झोला, खाने तथा बस्ने सबै नगरपालिकाले व्यवस्था गरेको छ । विद्यार्थी अभावले गर्दा क्यामिन छापथोक प्राथमिक विद्यालय बन्द भएपछि नगरपालिकाले रु ४० लाख खर्चेर विद्यालयको मर्मतसम्भार गरी विसं २०७९ भदौ ५ गतेदेखि व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याएको हो ।

साहाराविहीन भएका कतिपय बालबालिका सडकमा भौँतारिएर हिँड्ने गरेकाले पढ्ने, लेख्ने अधिकारबाट वञ्चित हुने तथा कुपोषण हुने गरेकाले व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । कक्षा १ देखि ६ सम्म पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले जानकारी दिनुभयो ।

हाल सो विद्यालयमा शिक्षक र कर्मचारी गरी १० जना छन् भने सबै कक्षामा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने तथा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्ने गरिएको छ । नगरपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षकत्व गरेकामा स्थानीय बासिन्दा खुसी भएका छन् । यस उदाहरणीय कार्यको अन्य पालिकालेसमेत सिको गर्नुपर्ने आवश्यक देखिएको छ । रासस