तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेबजारस्थित बामपाङ खोलामा वर्षाका समयमा कल्भर्ट निर्माण सुरु गरिएको छ । वर्षामा बाढी आउने जोखिम भए पनि आर्थिक वर्ष सकिन लाग्दा उक्त ठाउँमा कल्भर्ट निर्माण सुरु गरिएको हो ।

खोलामा असार २ गतेदेखि खन्ने काम थालिएको स्थानीय राजकुमार थापाले बताउनुभयो । “एक वर्षसम्म काम नगरी आर्थिक वर्ष सकिन लाग्दा बाढीको जोखिम भएको ठाउँमा काम सुरु गरिएको छ । यसबाट बजेटको दुरुपयोग हुनेमा आशङ् पैदा भएको छ”, उहाँले भन्नुभयो ।

थापाले वर्षा लाग्ने समयमा खोला खनेर राज्यको पैसा दोहन गर्ने काम भएको गुनासो गर्नुभयो । उहाँले यसअगाडि समयमै कल्भर्ट निर्माणका लागि धेरै पटक प्रमुख/उपप्रमुखसँग कुरा गरेपनि सुनुवाइ नभएको बताउनुभयो ।

थापाले भन्नुभयो, “असारमा आएर काम गर्दा पैसा दोहन मात्रै हुन्छ । गुणस्तरीय काम नहुने पक्का छ ।” लामो समयसम्म काम नगरी बस्ने र असारमा आएर खोला खन्ने काम हुँदा जनप्रतिनिधि जनताप्रति उत्तरदायी नभएको उहाँको भनाइ छ ।

पानीको बहाव कम भएपछि काम गर्न यहाँका स्थानीयले माग गरेका छन् । स्थानीयको माग सम्बोधन नगरी वर्षाको समयमा निर्माण थालिएकाले गुणस्तरीय काम हुन नसक्ने सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शङ्कर पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्ता काम समयमै गर्नुपथ्यो, एक वर्षसम्म सुतेर बस्ने, अहिले आर्थिक वर्ष सकिनै लाग्दा काम गर्दा बजेटको दुरुपयोग हो । असारमा बाढी आएर खोला सबै बगाउँछ र जोखिम झन बढ्छ ।” पन्तले अहिले खर्च गरेर काम थाल्ने र बाढीले बगाउनुभन्दा अर्को वर्ष राम्रो काम गर्नुपर्नेमा जोड दिनुभयो ।रासस