कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा बहुउद्देश्यीय कर्भहल निर्माण थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु १३ करोड तीन लाख २८ हजारको लागतमा निर्माण गरिने सो कभर्डहल प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले आज यहाँ शिलान्यास गर्नुभयो ।
सुदूरपश्चिमलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन कञ्चनपुरको विगत लामो समयदेखि योगदान रहेको बताउँदै उहाँले कभर्डहल निर्माणपछि यहाँबाट थप खेलाडी उत्पादन हुने बताउनुभयो ।

“इतिहासमा ओलम्पियनदेखि प्रतिभावान क्रिकेटरसम्म कञ्चनपुरले उत्पादन गरेको छ”, मन्त्री साउदले भन्नुभयो, “कभर्डहल निर्माणले खेलाडी उत्पादन हुनेमा आशावादी छौँ ।” चालु आर्थिक वर्ष रु आठ करोड विनियोजन गरेको प्रदेश सरकारले आगामी आवमा उक्त कभर्डहल निर्माणका लागि रु पाँच करोड रकम विनियोजन गरेको छ ।

“स्कुलदेखि ओलम्पिकसम्मको खेलकुदको नीति प्रदेशले लिएको छ”, उहाँले भन्नुभयो, “खेल क्षेत्रमा भौतिक संरचना निर्माण र खेलाडीका पक्षमा प्रदेश सरकार सधैँ अग्रसर छ ।”

सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य प्रकाश रावलले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणमा ढिलाइ भएकाले कभर्डहल निर्माणको सुरुआतमा केही समय लागेको बताउनुभयो । “डिपिआर निर्माणमै दुई वर्ष लाग्यो”, उहाँले भन्नुभयो, “कञ्चनपुर अब खेलकुद र खेलाडी उत्पादनमा हब बन्नेछ ।”

प्रदेशका पूर्वमन्त्री लालबहादुर खड्का, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहलगायतले खेलकुदको विकासमा आ–आफ्नो धारणा व्यक्त गर्नुभयो । निर्माणको जिम्मा पाएको बैजनाथ–कन्टुर जेभीले कभर्डहल निर्धारित समय तीन वर्ष अगावै निर्माण गर्ने जिकिर गरेको छ ।रासस