आजभन्दा १५÷१६ वर्षअघि मागेर खाने, भूमिहीन, कुष्टरोग प्रभावितलाई लक्षित गरी जनकपुरधाममा बनाइएको कोडियाबस्ती संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । समाजसेवी जमिरियादेवी कुर्मिनीले जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माण गरेको बीस कोठे भवनसहितको संरचना उहाँको निधनपछि संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।
कुनै समय करिब २२ परिवारका एक सय मान्छेको सामूहिक बसाइँ रहेको सो स्थानबाटै कुष्टरोग प्रभावितको औषधोपचार र उचित हेरचाह गरी नयाँ जीवन दिने काम भएको थियो ।
सडक किनारमा अपहेलित जीवन बाँचिरहेकालाई सम्मानित जीवन बाँच्न सिकाउने सोही बस्ती अचेल आफैँ नयाँ जीवनको पर्खाइमा छ । रङ्ग उड्दै गरेको अग्लोे पर्खाल । खियाँ लाग्दै गरेको फलामे प्रवेशद्वार (गेट) । त्यहीभित्र अग्लाअग्ला रुख र जीर्ण हुँदै गएको २० कोठे भवन । भवनजस्तै जीन्दगीको रङग उड्दै छ सुरुदेखि नै यहाँ बस्दै आउनुभएका बेचन मण्डलको पनि यो बस्तीको विगत र यसको योगदानका बारेमा जनकपुरका धेरैलाई जानकारी छ, तर पछिल्लो तितो कथाबारे भने धेरैजसो बेखबर छन् । कुनैबेला २०÷२२ परिवारका करिब एकसय जनाले नयाँ जिन्दगी पाएको यो २० कोठे भवनका तीन कोठाबाहेक सबैमा ताला लगाइएका छन् ।
ती कोठामध्ये एउटामा बेचन मण्डलको पाँच जनाको परिवार र अर्कोमा एकल महिला गीता सदा आफ्ना पाँच सन्तानसहित बसिरहनुभएको छ भने अर्को कोठामा २१ वर्षीय कृष्ण सदा एक्दै बस्न थालेको धेरै भइसक्यो । त्यो समय, जुनबेला कुष्टरोगी भनेपछि समाजले छिःछि दूरदूरको भावले हेथ्र्यो । जनकपुरधाम आसपासका कुष्टरोग प्रभावितको अवस्था पनि त्यही थियो । मागेर खानुपर्ने अवस्थाका अधिकांश भूमिहीन गरिब कुष्टरोग प्रभावितको त्यही अवस्था देखेर जनकपुर निवासी समाजसेवी जमिरियादेवी कुर्मिनीले धर्मशाला निर्माण गरिदिनुभएको थियो । छ कठ्ठा पाँच धुर जमिनमा २० कोठे भवन, भान्छा, मन्दिर र पठनपाठनका लागि शिक्षकसहितको व्यवस्था, कुष्टरोगीको नियमित औषधोपचार, खानपिनको बन्दोबस्त र उचित रेखदेखले ‘पूर्वजन्मको दोष’ देखाएर जीवनबाट हार खाएकामा जगाइएको आशाले बस्ती नै गुञ्जायमान हुँदै थियो तर विसं २०७२ साउन ११ गते जमिरियादेवीको मृत्यूपश्चात सो बस्ती उजाड बन्दै गएको छ ।
फेरि सडकमै
जमिरियादेवी जीवित हुँदासम्म यहाँ बसोबास गर्नेहरुको रेखदेख र गाँसबासका लागि सोहीअनुसारको बन्दोबस्त थियो । उहाँको निधनपश्चात भने सुरक्षा, संरक्षण र रेखदेखको अभावमा भवन जीर्ण बन्दै गएको छ । त्यही कारण आफूहरुलाई बस्न कठिन भइरहेको विजय सदाले बताउनुभयो । कवाडी उठाउने काम गरिरहनुभएका उहाँले वर्षौ बिताएको बस्ती छोडेर जानुपर्दा निकै दुःख लागिरहेको बताउनुभयो । “१५÷१६ वर्ष यही बस्तीमा बसियो । यही हुर्कियो । मेरो आमाले अन्तिम स्वास फेरेको ठाउँ पनि यही हो । माया त लाग्छ तर के गर्नु अहिले बस्ने अवस्था छैन”, सदाले भन्नुभयो,“जमिरियादेवि वितेपछि कसैले पनि रेखदेख गर्दैनन् । बिजुलीबत्ती छैन । बक्यौता रकम नतिरेको भनेर विद्युत प्राधिकरणले लाइन काटेको धेरै भइसक्यो ।रासस