प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

गणपूरक सङ्ख्या नपुगेको भनी नेकपा(एमाले)का सांसद महेश बर्तौलाले प्रश्न उठाएपछि सभामुख देवराज घिमिरेले तीन मिनेट घन्टी बजाइ सङ्ख्या यकीन गर्न निर्देशन दिनुभयो ।

कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा ७६ कायम भएको थियो । सो प्रस्तावमाथि यही असार १७ गते छलफल हुनेछ । त्यसअघि अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र र राजस्वको आकार क्रमशः बढाउँदै आफ्नै स्रोत र साधनका आधारमा विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कर प्रस्ताव गर्दा कुनै पनि समूह र व्यापारिक घरानालाई नहेरिएको उल्लेख गर्नुभयो ।

मूल्य अभिवृद्धि कर (भ्याट) को प्रवेशसँगै मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको जानकारी दिँदै अर्थमन्त्री डा महतले आम्दानीको यथार्थ आँकलका आधारमा त्यसको दायरामा बढोत्तरी हुने बताउनुभयो । भ्याटमा छुट दिँदा दिँदा अनेकन खालका अवस्थाको सिर्जना भएको उल्लेख गर्दै उहाँले करको दायरामा विस्तार एवं विविधीकरण गरिएको बताउनुभयो ।

राजस्वको वृद्धि गर्नु जरुरी रहेको स्पष्ट पार्दै अर्थमन्त्री डा महतले किसानलाई आधारभूत वस्तु उत्पादन गर्न प्रेरित गर्ने उद्देश्यका साथ केही अत्यावश्यक वस्तुमा भ्याट लगाइएको स्पष्ट पार्नुभयो । संसारका विभिन्न देशलेसमेत करको औजार प्रयोग गरेर आन्तरिक उत्पादनको बढोत्तरी गरेको तथ्य पेस गर्दै आन्तरिक उत्पादन बढाउनका लागि यो पनि एउटा उपाय भएको बताउनुभयो ।रासस