भरतपुर महानगरपालिकाले स्वस्थ्य जीवनका लागि सबै विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था गर्ने भएको छ ।
आगामी आर्थिक वर्षबाट ‘शिक्षामा योग, टाढा लाखौंँ रोग’ नाराका साथ सामाजिक सङ्घ संस्थासँगको समन्वयमा विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था मिलाउन लागिएको हो ।
महानगर प्रमुख रेनु दाहालले शैक्षिक क्षेत्रमा व्यवहारिक र जीवनउपयोगी ज्ञानलाई समेत ध्यान दिँदै आफ्नो नीति तथा कार्यक्रममा यो विषय समावेश गरेको जानकारी दिनुभयो ।
शिक्षालाई व्यवहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन ‘मौलिक र व्यवहारिक शुक्रबार अभियान कार्यान्वयनमा ल्याउने उहाँको भनाइ छ ।
“शुक्रबार स्थानीय पाठ्यक्रममा आधारित क्रियाकलाप, महानगरको शैक्षिक क्यालेन्डरमा समाविष्ट अतिरिक्त क्रियाकलाप, खेलकुद तथा सङ्गीतका क्रियाकलाप, नैतिक शिक्षा, मनोपरामर्श, योग र प्राकृतिक चिकित्साको अभ्यास गराउनुका साथै प्रत्येक महिनाको एउटा शुक्रबार सरसफाइ, वृक्षरोपण जस्ता सामाजिक सेवामा संलग्न गराउने व्यवस्था मिलाइनेछ”, उहाँले भन्नुभयो ।
महानगरको शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडि बढाउने उद्देश्यले सरोकारवालाको सहभागितामा तयार पारिएको शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइने उहाँको योजना छ ।रासस