उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पीय ल्याक्ख्वाले शिष्टाचार भेट गर्नुभएको छ ।

रक्षा मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा राष्ट्रसङ्घसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले नेपालले राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाल सक्रियतापूर्वक सहभागी हुँदै आएको तथा महासचिवले अघि बढाएको शान्ति कार्यप्रति नेपाल सरकार प्रतिबद्ध बताउनुभयो । अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा शान्ति सैनिक पठाउने दोस्रो ठूलो राष्ट्र भएकोमा प्रसन्नता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले नेपालले राष्ट्रसङ्घको आह्वानमा १० हजारसम्म शान्ति सैनिक पठाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

करिब दुई हजार फौजको सात वटा युनिटलाई राष्ट्रसङ्घबाट माग भएको खण्डमा छोटो अवधिमै खटाउने गरी तयारी अवस्थामा राखिएको सो अवसरमा जानकारी गराइयो ।

रक्षामन्त्री खड्काले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यलाई प्रभावकारी बनाउन प्रत्येक मिसनमा आवश्यक पर्ने उपकरण एवं सवारी साधनको व्यवस्थापन तथा शान्ति कार्यमा खटिने सैनिकलाई मिसन इलाकामा खटाउनुपूर्वको तालिम प्रभावकारीरूपमा प्रदान गरिने बताउनुभयो । रासस