सङ्घीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् ।

चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय ७७ जनाको छ । अस्पतालमा ४४ चिकित्सकको मात्र स्वीकृत दरबन्दी छ । अस्पताल विकास समितिका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ । जहाँ एक सय ६५ चिकित्सक कार्यरत रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार दुई वर्षअघि अस्पतालमा भएको ‘ओएनएम सर्भे’अनुसार एक हजार ८७ कर्मचारी आवश्यक पर्ने हो । सर्भेअनुसार कर्मचारी नहुँदा अस्पताल विकास समिति र ठेकेदारमार्फत राखिएका कर्मचारीको भरमा अस्पताल चलिरहेको छ ।

विसं २०७५ मा अस्पताललाई केन्द्रीय अस्पतालका रूपमा पाँच सय शय्या बनाउने निर्णय भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसक्दा कर्मचारीको अभावका कारण व्यवस्थापनमा कठिनाइ भएको हो । अहिले अस्पताल छ सय शय्यामा सञ्चालनमा छ ।

अस्पतालमा सरकारी र विकास समिति गरी नौ सय १५ चिकित्सक कर्मचारी कार्यरत रहेका छन् । सरकारले पाँच सय शय्याको अस्पतालका रूपमा विकास गर्दैगर्दा पनि दरबन्दी भने एक सय ५० शय्याको मात्र रहेको छ । पौडेलका अनुसार दैनिक एक जना चिकित्सकले ३० जना बिरामी हेर्नुपर्नेमा ५० देखि एक सय जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक जना चिकित्सकले ३० जना बिरामी हेर्ने हो तर यो सम्भव छैन ।रासस