प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठक सुरु हुने वित्तिकै रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव फिर्ताको माग गर्दै उठेर विरोध जनाउनुभएको थियो ।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद् सन्तोष परियारलाई बोल्न समय दिनुभयो । परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव लोकतन्त्रविरोधी भएकाले तत्काल सच्याउन माग गर्नुभयो ।

“जिल्ला स्तरीय निर्वाचन आयोगलाई जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने विषयमा हामीले मत जाहेर गर्दा पनि सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “सरकारले उक्त निर्णय तत्काल फिर्ता लिएर गल्तीस्वीकार गरोस् अन्यथा यो सदनको कारबाही अगाडि बढ्न नदिन हामी बाध्य हुनेछौँ ।”

उहाँले लोकतान्त्रिक मूल्य, मान्यताविपरीत जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव ल्याइएकाले त्यसलाई फिर्ता लिनेबारे अर्थमन्त्रीले स्पष्ट जवाफ नदिएसम्म सदनको कारवाही चल्न नदिने अडान राख्नुभयो ।

सभामुख घिमिरेले उठाइएको विषयमा सरकारको ध्यानाकर्षण हुने र जिल्ला निर्वाचन कार्यालय खारेजीलगायतका विषयमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेकाले कार्यसूचीमा जानका लागि आग्रह गर्नुभएको थियो ।रासस