बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन । सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो । सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन नसकेको छैन । ठाडो खोला भएका कारण पानीको बहाव थेग्न नसक्दा ‘डाइभर्सन’मा ‘ह्युमपाइप’ अडिन नसकेपछि ‘डाइसर्भन’ अधुरो भएको हो । सोमबार अपराह्न १२ वटै ह्युमपाइपलाई जोडेर छवटा प्रवाहमा पानी हाल्ने प्रयास गरिएको थियो । तर पानीको बहावका कारण पाइप धसिएपछि ‘डाइभर्सन’ अनिश्चित भएको हो ।
डाइभर्सन सञ्चालनका लागि थप ह्युमपाइप खोजी गरी खोलाको पानीलाई थप दुई प्रवाहबाट अघि बढाउन सडक डिभिजन कार्यालय इलाम सामग्री जुटाउनतर्फ लागेको छ । “बहावका कारण ह्युमपाइप नअडिँदा डाइभर्सनलाई पूर्णता दिन सकिएन”, सडक भिडिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले भन्नुभयो, “थप ह्युमपाइप ल्याई चाँडोभन्दा चाँडो डाइभर्सन सञ्चालन गर्छौँ ।” यस्तै पानीको बहावलाई कमजोर बनाउन डाइभर्सन नजिकै ढुङ्गा राखेर अवरोध बनाउने प्रयास पनि गरिने उहाँले जानकारी दिनुभयो । आज बिहान थप ह्युमपाइप डाइभर्सनमा राख्ने काम थालिएको छ ।
यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि जिल्लाका हिलिहाङ र याङ्वरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्क टुटेपछि मेची राजमार्गमा अत्यावश्यक कामले यात्रा गर्ने यात्रु तथा बिरामीले फड्के र तुइनको सहाराले खोला तर्दै आएका छन् । खाद्य सामग्रीको आयात तथा कृषिजन्य उपज र दुग्धजन्य पदार्थको निर्यात प्रभावित बनेको छ । रासस