पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्कन बाटो खोलिदिएको छ ।

सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठह¥याउन सकिन्छ भन्ने विषयमा कानुन पारित गरेको पाकिस्तान सरकारका एक प्रवक्ताले मङ्गलबार बताउनुभएको छ ।

सन् २०१७ मा भ्रष्टाचारको आरोपमा सत्ताच्युत हुनुअघि सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बन्नुभएको थियो ।

सर्वोच्च अदालतले उहाँलाई आजीवन राजनीतिमा प्रतिबन्ध लगाएपछि सात वर्षको जेल सजाय सुनाइएको थियो ।

सन् २०१९ मा उहाँलाई स्वास्थ्य उपचारका लागि विदेश जान जमानत दिइएको थियो र उहाँ बेलायत जानुभएको थियो ।

त्यतिबेलादेखि सरिफ बेलायतमा नै रहेर पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) पार्टीलाई पर्दा पछाडिबाट नेतृत्व गरिरहनुभएको बताइने गरेको छ ।

उहाँका भाइ शहबाज सरिफ गत वर्ष प्रधानमन्त्री बन्नुभएको थियो भने पीएमएल–एनको औपचारिक नेतृत्व पनि उहाँले नै गर्दै आउनुभएको छ ।

पाकिस्तानमा आगामी अक्टोबरभन्दा पहिले नै आम निर्वाचन हुन लागेको छ ।

पाकिस्तानका कार्यवाहक राष्ट्रपतिले राष्ट्रिय सभाबाट पारित नयाँ कानुनमा हस्ताक्षर गर्दै अदालतले सांसदलाई पाँच वर्षभन्दा नबढाई अयोग्य ठह¥याउन सक्ने व्यवस्था गरेको उल्लेख मङ्गलबार सरकारका एक प्रवक्ताले गर्नुभयो । रासस