ताप्लेजुङमा अवस्थित विशवको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ ।

कञ्चनजङ्घा अवलोकन गर्न पर्यटकलाई सहजता ल्याउनका लागि फक्ताङलुङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा अक्सिजन सिलिण्डर राख्ने भएको हो । फक्ताङलुङ गाउँपालिकाले गत आइताबार १३ औँ गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पर्यटकको स्वास्थ्य संवेदनशीलतालाई दृष्टि गरी कञ्चनजङ्घा आधार शिविरसहितका क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डरसहितका उपकरण राख्ने निर्णय गरिएको छ ।

कञ्चनजङ्घा आधार शिविर पाङ्पेमासहित लोनाक, खम्बाछेन, याङ्मा, मौवाटार, सिङ्जेमा ताल र टिपताला भञ्ज्याङमा यो सुविधा प्रदान गर्ने गाउँपालिकाले घोषणा गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । कञ्चनजङ्घा आधार शिविरमा आउने पर्यटक अक्सिजनको कमीले बीच बाटोदेखिनै फर्कनुपर्ने देखि हेलिकप्टर चार्टर गर्नेसम्म अवस्था विगतका वर्षहरुमा हुँदै आएको थियो ।

गाउँपालिकाले लिएको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर नीति कार्यक्रम राम्रो भए पनि व्यस्थापन पक्ष अझ महत्त्वपूर्ण रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक जितेन चेम्जोङले बताउनुभयो । चोम्जोङका अनुसार कञ्चनजङ्घा हिमाल आरोहण गर्न आउनेले भने आफैँ अक्सिजन लिएर आउने गरे पनि टे«किङका लागि आउने आन्तरिक तथा बाह्य पयटनका लागि भने अक्सिजन व्यवस्थापन गर्न आवश्यक रहेको छ ।रासस