आर्थिक वर्ष २०८०/०८१ का लागि रुपन्देहीका प्राय सबै पालिकाले आइतबार बजेट सार्वजनिक गरेका छन् ।

बजेट सार्वजनिक गरेका पालिकामध्ये अधिकांशले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन् । भौगोलिकरुपले जिल्लामा सबैभन्दा ठूलो तिलोत्तमा नगरपालिकाले आइतबार आगामी आवको लागि रु दुई अर्ब ७३ करोड ८४ लाख ३९ हजार पाँच सय २९ बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख जागेश्वर चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्च रु एक अर्ब छ करोड २४ लाख ५० हजारअर्थात् ३८ दशमलव ७९ प्रतिशत र पुँजीगत खर्च रु एक अर्ब ६७ करोड ५९ लाख ८९ हजारअर्थात् ६१ दशमलव २१ प्रतिशत अनुमान गरिएको छ ।

बजेटमा आन्तरिक राजस्वतर्फ रु ४५ करोड २४ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको छ । यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ७७ करोड ९१ लाख ४४ हजार पाँच सय २९ प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजिनक गर्दै उपप्रमुख चौधरीले जानकारी दिनुभयो ।

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उपप्रमुख चौधरीले बताउनुभयो । बजेटमा स्वास्थ्यमा रु १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा रु ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइमा रु तीन करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा रु दुई अर्ब १५ करोड ९५ लाख विनियोजन प्रस्ताव गरिएको छ । रासस