कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उपाधि इलामले जितेको छ । यहाँ सञ्चालित मुख्यमन्त्री कप फुटबलको फाइनल खेलमा सङ्खुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि जितेको हो ।

जितसँगै इलामले रु दुई लाखसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता सङ्खुवासभाले रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलका विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ । बेस्ट गोलकिपर इलामका मौसम मगर, बेस्ट डिफेन्स इलामका आयुश तिमलसिना, बेस्ट फरवार्ड सङ्खुवासभाका मन्दिप राई, उच्च गोलकर्ता ओखलढुङ्गाका सञ्जय गुरुङ, बेस्ट मिडफिल्डर सङ्खुवासभाका पर्शु राई र बेस्ट कोचको उपाधि इलामका छिरिङ पासाङले हात पार्नुभएको छ ।

यस्तै ‘म्यान अफद सिरिज’को उपाधि इलामको विशाल तामाङ जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो । खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा यही असार ४ गतेदेखि प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा कोशी प्रदेशका ताप्लेजुङबाहेक अन्य १३ जिल्लाले सहभागिता जनाएका थिए । रासस