बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आज उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गर्नुभएको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण रु ३० करोड १७ लाख, ससर्त अनुदान रु ४७ करोड ९२ लाख, समपूरक अनुदान रु ८० लाख र विशेष अनुदान रु दुई करोड रहने अनुमान गरिएको छ ।
यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु दुई करोड ३१ लाख ६९ हजार, ससर्त अनुदान रु दुई करोड नौ लाख ५० हजार र समपूरक अनुदान रु दुई करोड अनुमान रहेको छ । राजस्व बाँडफाँटबाट प्राप्त हुन अनुदान रु ३१ करोड ८५ लाख ३१ हजार र आन्तरिक आयतर्फ ९१ करोड राजस्व सङ्कलन हुने र गत आर्थिक वर्षको अघिल्लो वर्षको बाँकी (अल्या) रु २६ करोड ३८ लाख ५० हजार हुने अनुमान गरिएको छ ।
बजेटमा उपप्रमुख अर्यालले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिनुभएको छ । त्यस्तै, बजेटमा उज्यालो बुटवल, सफा, सुन्दर, हरियाली सहितको सुरक्षित र समुन्नत सहरका रूपमा विकास गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ रु २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि रु ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुका लागि रु १६ करोड ५० लाख, कृषि, पशुपक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ रु चार करोड ४० लाख, फोहरमैला व्यवस्थापन तथा वातावरणतर्फ रु एक करोड ८३ लाख र सुशासन तथा सेवाप्रवाह, नगर विकासका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको उल्लेख छ । रासस