कैलालीको टीकापुर नगरपालिकाले बालबालिकाको संरक्षणका लागि बालकोष स्थापना गरेको छ । विभिन्न विपत् र महामारीमा बालबालिकाको आपत्कालीन उद्धार तथा सहायता प्रदान गर्ने उद्देश्यले स्थानीय तहमा ‘बालकोष’ स्थापना गर्ने गरिएको छ ।
कोषमा बाल कल्याण सङ्घ टीकापुरले रु एक लाख सहयोग गरेको छ भने नगरपालिकाले रु ७० हजार जम्मा गरेको छ । नगरपालिकाले आगामी दिनमा यो कोषमा रकम बढाउँदै लैजाने महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाह बताउनुहुन्छ । “कोष सुरु भएको छ, कोषमा हरेक वर्ष पालिकाले रकम थप्दै जानेछ”, उहाँ भन्नुहुन्छ, “बालबालिकाका क्षेत्रमा काम गर्ने, सघाउन चाहनेले समेत कोषमा रकम जम्मा गर्न सक्नेछन् । यही कोषमार्फत समस्यामा रहेका बालबालिकालाई सहयोग गरिनेछ ।”
बालबालिकासम्बन्धी ऐन, २०७५ द्वारा निर्देशित बुँदामध्ये स्थानीय तहमा बालहितका प्रयोजनले बालकोष स्थापना गर्नुपर्ने प्रावधान छ । स्थानीय तहले बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने बालकोषलगायत बाल संरक्षण अधिकारी र कार्यविधि बनाउन थालेका छन् । टीकापुर नगरपालिकाले बाल संरक्षण अधिकारीको जिम्मा महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुखलाई दिएर काम गरिरहेको छ ।
नगरपालिकाले बालकोष स्थापना गरी बाल संरक्षणका काम थालेको छ । पालिकाले स्थानीय तहलाई बालमैत्री पालिका घोषणा गर्नका लागि शिक्षा, स्वास्थ्य, बाल संरक्षण तथा बचाउ, घटना दर्तालगायत विभिन्न ५१ सूचक पूरा गर्न काम थालेको छ ।
बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागि गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक हुन्छ । नगरपालिकाले नगरस्तरीय बाल सञ्जाल समितिसमेत गठन गरेको छ । समितिले बालबालिकाका समस्या, आवश्यकता र समाधानका उपायबारे छलफल गर्ने, समाधानको खोजी गर्ने गरेको सञ्जालका अध्यक्ष वर्षा रानाभाट बताउनुहुन्छ । “हामी बाल सञ्जालको पटक–पटक बैठक बस्छौँ”, अध्यक्ष रानाभाट भन्नुहुन्छ, “बालबालिका समस्या, विद्यालयमा भोगेका समस्या, घरमा भोगिरहेका समस्याबारे छलफल हुन्छ ।रासस