काठमाडौँ र हेटौँडा जोड्ने कान्तिलोकपथमा खसेको पहिरो हटाइ यातायात सञ्चालन गरिएको छ । ललितपुरको भट्टेडाँडास्थित प्रहरी चौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो खसेको थियो । दिउँसो पहिरो हटाइ अपराह्नबाट यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरो खसेपछि हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेका सवारी साधनलाई मकवानपुरको ठिंगनमा प्रहरीले रोकेको थियो । आज बिहानैदेखि पानी परिरहेकाले मौसममा सुधार आएपछि पहिरो हटाइएको हो ।
मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी, चित्लाङ र थानकोटतर्फको यातायात पनि सञ्चालनमा रहेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ ।रासस