सहज च्यालेन्ज फन्डले मकै, अलैँची, दुग्ध उत्पादन र तरकारीको मूल्य शृङ्खलाहरूमा विद्यमान अवरोधहरू समाधान गर्न नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पर्यावरणीय तथा वातावरणीय पहलहरूका सेवाहरू प्रदान गर्ने सेवा प्रदायकलाई सहयोग गर्ने जनाएको छ ।

सहज च्यालेन्ज फन्डले आज यहाँ पत्रकार सम्मेलन गरी चौथो र पाँचौँ चरणको सहयोग कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेपाल कृषि बजार विकास कार्यक्रमका टिम लिडर रिमा श्रेष्ठले स्विस कोन्टाक्ट, सहज च्यालेन्ज फन्ड र कोशी प्रदेशमा कृषि सेवा प्रावधान बढाउन फन्डको महत्त्वबारे जानकारी दिनुभयो । उहाँले च्यालेन्ज फन्डको पहिलो पटक आवश्यक उपकरण र दोस्रो राउन्ड डेरीमा कसरी केन्द्रित छ भन्नेबारेमा विस्तृत जानकारी गराउनुभयो ।

कृषि बजार विकास कार्यक्रमका प्रबन्धक शुभेच्छा श्रेष्ठले उत्पादन विकास तथा गुणस्तर सुधारद्वारा सुधारिएको कृषि गतिविधिका सान्दर्भिकताको बारेमा जानकारी दिनुभयो । साथै उहाँले प्रशोधित खाद्य पदार्थको माध्यमबाट उत्पादन विविधिकरणलाई कसरी सहयोग गर्ने भन्नेबारेमा कुरा बताउनुभयो । यसैगरी कृषिबजार विकास कार्यक्रमका ब्रजेश मल्लले च्यालेन्ज फन्डले जलवायु र वातावरणीयरूपमा दिगो अभ्यासमा सहयोग गर्ने कम्पनीको प्रकारमा स्पष्ट पार्नुभयो ।

परियोजनाका उत्पादन विकास तथा गुणस्तर सुधारविज्ञ दिप्ताङ्शु थापाले नेपालको सान्दर्भिक चुनौती र सम्भावित समाधानका बारेमा बताउनुभयो । परियोजनाका पर्यायवरणीय तथा वातावरणीय विज्ञ विपिन थापाले फन्डले नवप्रवर्तनको माध्यमबाट दिगो परिवर्तन ल्याउने बताउनुभयो ।रासस